Wednesday, February 12, 2020

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवश-२०७६ कञ्चनपुर ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ (उनन्तीसौं) स्थापना दिवस आयोगको कार्यालय, कञ्चनपुरले मिति २०७६।१०।२८ गते एक समारोहको आयोजना गरी भव्यताका सम्पन्न गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रमुख वावुराम खतिवडाज्यूले अध्यक्षता गर्नुभएको आयोगको २९ औं स्थापना दिवस समारोहमा सुदूरपश्चिम प्रदेश प्रमुख माननीय शर्मीला कुमारी पन्तज्यू प्रमुख अतिथि र भौतिक पूर्वाधार विकास मन्त्रालयका माननीय मन्त्री पठान सिंह बोहराज्यु विशिष्ठ अतिथि रहनुभएको थियो ।



समारोहको अध्यक्षता गर्नुभएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरका प्रमुख श्रीमान् वावुराम खतिवडाज्यूले आयोगको तीन खम्बे रणनीतिको चर्चा गर्दै सामाजिक रोगको रुपमा मौलाउदै गएको भ्रष्टाचार विरुद्धका विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय कानूनहरुको सफलतापूर्वक कार्यान्वयन गर्न आयोगको एक्लो प्रयासले मात्र संभव नहुने यसमा सबै पक्ष, तह र तप्काको सहभागी हुन आवश्यक रहेको र सबै सरोकारवाला समुदायले भ्रष्टाचार नियन्त्रणतर्फ यथेष्ठ ध्यान केन्द्रिन गर्नुका साथै क्रियाशील रुपमा संलग्न हुनुहुनेछ भन्ने विश्वास लिएको बताउनुभयो । वहाँले सुशासन र भ्रष्टाचारजन्य क्रियाकलाप बीचमा गहिरो अन्तरसम्बन्ध रहेको उल्लेख गर्दै अनुसन्धान सुदृढ बनाई भ्रष्टाचार न्यून गर्न अनुचित कार्यको अनुसन्धान गर्ने क्षेत्राधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कानूनमै व्यवस्था गर्न सरोकारवाला पक्षहरुको ध्यानाकर्षण समेत गराउनुभयो ।

सुशासनको पाटोलाई बलियो बनाउन प्रदेश र स्थानीय तहहरुमा नियमनकारी निकाय नभएकाले त्यस्तो निकायको स्थापना गरी सुशासनको प्रवर्द्धन मार्फत भ्रष्टाचार नियन्त्रण गर्नेतर्फ तीनै तहका सरकारहरुलाई समेत आग्रह गर्नुभयो र समारोहमा उपस्थित सबैले आ-आफ्नो ठाउँमा इमान्दारितापूर्वक कर्तव्यको पालना गर्दै कानून बमोजिम कार्य गरे भ्रष्टाचार धेरै हदसम्म न्यूनिकरण गर्न सकिने र सार्वजनिक पदाधिकारीहरुले निहित व्यक्तिगत स्वार्थ भन्दा माथि उठी "समृद्ध नेपालः सुखी नेपाली" को आयोगको लक्ष्यलाई प्राप्त गर्न तत्पर हुने प्रेरणा आजको समारोहले दिने आफुले अपेक्षा गरेको बताउदै उक्त समारोहमा जिल्ला समन्वय समिति कैलालीका प्रमुख श्री सुर्य बहादुर थापाज्यू, सुदूरपश्चिम प्रदेश, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय श्रीमान् प्रमुख सचिव बालकृष्ण घिमिरेज्यू, बेदकोट नगरपालिका प्रमुख अशोक कुमार चन्दज्यू, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय सचिव श्री दिपक कुमार खनालज्यू, प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन अर्यालज्यू, प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव झंकर बहादुर विष्टज्यू, प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका नि.सचिव, केशवदत्त जोशी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कृष्ण बहादुर राउतज्यू, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव किशोर कुमार चौधरीज्यू, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराज्यू,कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाज्यू, सशस्त्र प्रहरी नायव महानिरिक्षक गोविन्द क्षेत्रीज्यू, राष्ट्रिय अनुसन्धान सुदूरपश्चिम प्रदेशका अनुसन्धान निर्देशक ओम प्रकाश जोशीज्यू लगायत डिभिजन एवं जिल्लास्तरीय कार्यालय कार्यालय प्रमुखज्यूहरु, विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यूहरु, नागरिक निगरानी संस्था, कैलाली र कञ्चनपुरका अध्यक्षज्यूहरु, विभिन्न संचारमाध्यमका संचारकर्मीज्यूहरु र आयोगको कार्यालय कञ्चनपुरका कर्मचारीहरु समेत करिब १७६ जनाको सहभागीता रहेको थियो । समारोहमा उपस्थित सबैलाई आयोगको कार्यालय कञ्चनपुरका तर्फबाट उपसचिव महेश पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो ।

1 comments: