Thursday, April 2, 2020

पुच्छर हल्लियो टाउको हल्लेन : कोरोना विशेष

विश्वभर महामारीका रुपमा फैलिएको COVID-19 (कोरोना भाईरस) को संक्रमण तथा सोको कारणबाट मृत्यु हुनेको संख्या विश्वभर दिन प्रतिदिन तीव्र गतिमा बढ्दो छ । चीनको हुवेई प्रान्तको राजधानी वुहान प्रान्तबाट सुरु भएको नयाँ रोगको विश्वव्यापिकरणीय तवरमा फैलँदो छ अर्थात विश्व बजार चम्किरहेका देशमा सोही अनुपातमा कोरोनाको नकारात्मक असर चम्किरहेको छ । पछिल्लो २४ घण्टा (April 1) मा विश्वभरमा New Cases  76,872 New Deaths 4.890 भएको देखिन्छ । April 2 , 7:00 pm सम्म विश्वभरमा कुल ९५९,६९० संक्रमित मध्ये ४९,१५३ जनाको मृत्यु (क्रमिक बढिरहेको) समेत भइसकेको देखिन्छ । 

विभिन्न मुलुकका स्वास्थ्य र अर्थतन्त्र सम्बन्धी नीति फरक फरक छन् । जापान, अमेरिका जस्ता देशले कोरोना रोकथाम भन्दा अर्थतन्त्रलाई बढी महत्व दिएको सन्दर्भमा पछिल्लो समय अमेरिका यस्तो अवस्थामा पुगेको छ की अव नचाहेर पनि आफ्नो नियन्त्रण गुमाइरकेको छ । इटाली र स्पेनको अवस्था समेत त्यस्तै भयाभह छ । प्रविधि र पुँजिको प्रयाप्तता समेत शुन्य प्रतिफल युक्त देखिन्छ । मानिसहरु मेहेनत गरेर आर्जन गरेका पैसा सडकमा फालेर ज्यान जोगाउन कसरत गरिरहेका छन् । 

विश्वको अवस्था तथा अभ्यासलाई हेरी नेपालमा पनि कोरोनाको संभाव्य जोखिम बिरुद्ध सचेत हुन र विभिन्न कार्यहरु नभएका होइनन् । देश नै 'लकडाउन' भएको छ । स्थल तथा हवाई मार्गहरु बन्द छन् । समयमै सबै प्रकारका नाकाहरु बन्द गर्ने कदम अत्यन्त स्रहानीय छ । स्थानीय तहहरुमा 'क्वारेन्टाइन', 'आइसोलेसन वार्ड' स्थापना भएका छन् तर अपशोस क्वारेन्टाइन र आइसोलेसनमा बस्नेहरु आफै धामी आफै झाँक्रि हुनुको विकल्प छैन । किनभने कसैलाई शंका लागेमा उसले उपचार नपाउने लगभग पक्का देखिन्छ । लामो समयसम्म विरामी तातो पानी पिउन नपाएर मर्छ, कोरोनाको सबै लक्षण मिल्छ रे तर रिपोर्ट नेगेटिभ आउछ । के यो मजाक हो ?  

गाउगाउँमा शहर शहरमा प्रयाप्त प्रयास भएका छन् । स्थानीय तहहरुले रातदिन लागेर काम गरेको छन् । जिल्ला प्रशासन, सुरक्षा निकाय, स्वास्थ क्षेत्र लगाएका क्षेत्रमा कर्मचारीहरुले ज्यान दिएर कर्तव्य पालनमा खटिएका छन् । ईटाली जस्तो प्रविधि र पूर्वाधार भएका मुलुकमा त ५६ जना डाक्टर नै मर्नुपरेको र ४ हजार भन्दा बढी स्वस्थ्य सेवाका कर्मचारी संक्रमणमा पर्नुपरेको यथार्थ समाचारमा सुन्न पाइएको छ भने हाम्रो देशमा अरुको ज्यान बचाउन जाने स्वास्थ्य तथा सुरक्षा क्षेत्रका कर्मचारी आफु सुरक्षित हुने स्वास्थ्य सामाग्री नै छैन । सामान नहुँदा त्यसको व्यवस्थापनमा तत्काल तयार हुनपर्नेमा सबैभन्दा दुखद कुरा त के छ भने सामान किनमेलमा कमिसन र घोटालाको खेल पो चलिरहेको रहेछ । हैन यी अपराधीको दिमाग मान्छे मर्न लाग्दा पनि कति चाँडो चल्छ हँ ? के यी अपराधीहरु ढुक्क छन् कोरोनाले गरिब र गाउँकालाई मात्र जोखिम छ हामीलाई छैन भनेर ? इटाली, स्पेन र वेलायतमा यस घटना भोग्नुपरेका पात्रहरु यिनीहरुलाई के जानकारी छैनन् । के नेपाल आमालाई दु:ख पर्दा र शोकमा हुँदा समेत आखाँमा कालो पट्टी बाँधेर भागबण्डा कुरिरहेका छन् ?

यहाँ त पुच्छर हल्लेको छ, टाउको अडिग छ । केही शुभ समाचार सुन्न पाइएला कि भनेर गाउँघरमा तछाड मछाड चलेको छ । अधिकांशले नियम र कानुन सके सम्म पालन गरेकै छन् । यस्तो अवस्थामा संभाव्य संक्रमितको पहिचानमा विलम्म नहुनु पर्ने होइन । किन मान्छे जीवित हुँदै उसको नेगेटिभ रिपोर्ट उसले सुन्न पाउँदैन ?

आज कोरोना भएको छैठो व्यक्ति पत्ता लागेका छन तर उनी विरामी भएको थाहा हुँदाहुदै नेपाल आएको १६ दिनपछि मात्र जानकारीमा आउदैछन् । महिना दिनपछि सम्म पनि पहिले विदेशबाट आएका संक्रमित पहिचान हुन नसक्ने हो त ? सीमा नाकाहरु बन्द नै रहेको बेला विभिन्न निकायले क्वारेन्टाइन र आइसोलेशनमा राखेका व्यक्तिहरु चेक गरेर सर्टिफिकेट हातमा दिनुपर्ने होइन् ? PPE मा घोटाला गर्नेहरुले जननी माथिको अन्याय र अत्याचारको सजाय पाउलान कि नपाउलान ? लुटेको पैसा फालेर ज्यान जोगाउनु पर्ने अवस्था यिनीहरुको आउला भन्ने संदेश स्पेन, इटालीबाट पाउलान कि नपाउलान ?  यिनिहरुका कार्यमा सत्य र न्यायको जित हुन्छ/हुदैन ? हेर्न बाँकी नै छ । 

अन्तत् सबै सिमा नाकाहरु बन्द भएका अहिलेको समयमा शंका लागेका सबै विरामीका २/३ दिनमा रिपोर्ट आउने व्यवस्था गरी पोजेटिभ देखिएको हकमा अत्यन्न गर्भिरताका साथ अरुलाई सर्न नदिने/नहुने गरी उपचारको व्यवस्थापन गर्न र सीमा नाका  बन्द यथावत राखी देशभित्र अन्य सबै कामकाज नियमित रुममा सन्चालन हुने वातावरण स्थापना गर्न सके हप्ता दिनमा अधिकांश समस्या समाधान हुने देखिन्छ । मान्छे मरिसकेपछि मात्र रिपोर्ट आउने त्यो पनि नेगेटिभ भन्ने सुन्न नपरोस् ।
(-कुनै व्यक्ति विशेषलाई आक्षेप लाउने उद्देश्यले लेखेको होईन)  

1 comments: